एनएमबि बैंकका ग्राहकले अब लुप नेटवर्कमार्फत् कर्जा र किस्ताबन्दी सुविधा पाउने

काठमाडौं । एनएमबि बैंकले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ‘इसुअर बैंक’ का रूपमा आबद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ। सम्झौतासँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट सहजै खरिद कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन्।

सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्कालै ‘इन्स्ट्यान्ट पर्चेज क्रेडिट’ अर्थात् लुप क्रेडिट सुविधा लिन सक्नेछन्। यस सुविधाले ग्राहकलाई सामान खरिदका लागि आवश्यक रकमको व्यवस्थापन गर्न सहज बनाउने बैंकको अपेक्षा छ।

त्यस्तै, ग्राहकले आफ्नो एनएमबि बैंकको डेबिट कार्ड वा क्यूआरमार्फत गरेको भुक्तानीलाई पनि सहजै मासिक किस्ताबन्दी अर्थात् ‘लुप ईएमआई’ मा रूपान्तरण गर्न सक्नेछन्। यसबाट एकैपटक भुक्तानी गर्नुपर्ने रकमलाई मासिक किस्तामा विभाजन गरी भुक्तानी गर्न सकिनेछ।

बैंकका अनुसार यो सहकार्यले ग्राहकलाई डिजिटल माध्यमबाट वित्तीय पहुँच विस्तार गर्न, खरिद खर्च व्यवस्थापन गर्न र भुक्तानी प्रक्रियालाई थप सहज बनाउन सहयोग पुग्नेछ।

एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *