काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो ।
गत आर्थिक वर्ष बोर्डले १ अर्ब ५९ करोड रुपैयाँको बजेट ल्याएकोमा ८९ करोड ४७ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको थियो। यो कुल बजेटको ५६ प्रतिशत मात्रै हो। चालु आवका लागि भने बोर्डले गत वर्षभन्दा ११ करोड रुपैयाँ बढी बजेट छुट्याएको छ।
बोर्डले चालु आर्थिक वर्षमा पर्यटन सेवा शुल्कबाट १ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। त्यस्तै, पदयात्रा पर्यटक सूचना व्यवस्थापन शुल्क (टिम्स) बाट ४ करोड ६६ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ।
यसबाहेक विविध आय (सहभागिता योगदान, हलभाडा, ब्याज), बोर्डको संचित रकम, टीम्स संचित, टिम्स संयुक्त खाताको सञ्चित रकमलगायत शीर्षकबाट बोर्डले आम्दानी हुने अनुमान गरेको छ । बोर्डको खर्चमध्ये कर्मचारी खर्च १५ करोड ६३ लाख र कार्यालय खर्च १० करोड २१ लाख हुने अनुमान छ ।




