झोलुङ्गे पुलको ९ लाख ३० हजार पेश्की फर्स्यौट भएन, उपभोक्ता समितिविरुद्ध सरकारी बाँकी असुल गरिँदै

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिकामा झोलुङ्गे पुल निर्माणका लागि लिएको पेश्की रकम समयमै फर्स्यौट नगरेपछि उपभोक्ता समितिका पदाधिकारीविरुद्ध सरकारी बाँकी असुल गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।

संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भाडी झोलुङ्गे पुल निर्माण योजनाका लागि गठित उपभोक्ता समितिलाई गाउँपालिकाले ९ लाख ३० हजार ७ सय रुपैयाँ पेश्की उपलब्ध गराएको थियो । तर, निर्धारित समयभित्र उक्त रकम फर्स्यौट हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

पेश्की रकम फर्स्यौट गर्न गाउँपालिकाले उपभोक्ता समितिलाई पटक–पटक ताकेतापत्र पठाएको थियो । त्यसका बाबजुद रकम फर्स्यौट नभएपछि गाउँपालिकाले असोज ८ गते सात दिनको म्याद दिएर सार्वजनिक सूचना समेत जारी गरेको थियो ।

सार्वजनिक सूचनामार्फत तोकिएको अवधिभित्र पेश्की रकम संघीय सरकारको राजस्व खातामा जम्मा गरी फर्स्यौट गर्न भनिए पनि समितिले हालसम्म रकम दाखिला नगरेको गाउँपालिकाको भनाइ छ ।

तोकिएको समयभित्र पेश्की रकम फर्स्यौट नगरेपछि अब प्रचलित कानुनबमोजिम उपभोक्ता समितिका पदाधिकारीबाट सरकारी बाँकी रकम असुल गर्ने प्रक्रिया अघि बढाउने तयारी गाउँपालिकाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *