काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुले जितेका छन् । उनले १० लाख रुपैयाँ राशिको बम्पर उपहार प्राप्त गरेका हुन् ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन् ।
आन्तरिक राजस्व विभागका अनुसार साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो ।
उपहार घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले कानुलाई फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा सहभागी भई बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।
त्यसमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार थिए । यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ रहेको मन्त्रालयले जनाएको छ ।




