काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शृङ्खलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा यसअघि एसीसी प्रिमियर कप खेलेको टोलीबाट दुई परिवर्तन गरिएको छ। पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादवलाई समावेश गरिएको छ भने बाँयाहाते स्पिनर शाहब आलमले पनि टोलीमा स्थान बनाएका छन्।
यस शृङ्खलाका लागि ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामी भने टोलीमा परेका छैनन्। ओपनर आसिफ शेख र अर्जुन कुमालले भने टोलीमा निरन्तरता पाएका छन्।
लिग–२ अन्तर्गतको उक्त त्रिकोणात्मक शृङ्खला अक्टोबर ७ (असोज २१) देखि ओमानमा सुरु हुनेछ। शृङ्खलाका लागि क्यानडाले पनि आफ्नो टोली घोषणा गरिसकेको छ।
नेपालको टोली
सन्दीप लामिछाने (कप्तान)
दीपेन्द्रसिंह ऐरी
रोहित पौडेल
आसिफ शेख
अर्जुन कुमाल
इशान पान्डे
देव खनाल
सन्दीप जोरा
बसिर अहमद
गुल्शन झा
करण केसी
नन्दन यादव
ललित राजवंशी
शाहब आलम
शेर मल्ल




