भदौमा नेपाल भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा कुल ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या अघिल्लो वर्ष (सन् २०२५)को सोही महिनाको तुलनामा १२.१२ प्रतिशत अर्थात् ९ हजार ५३७ ले बढी हो ।

सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार ७११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए नेपाल पर्यटन बोड तथा अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार शरद ऋतुको पर्यटकीय सिजनको सुरुवातसँगै मुख्य गरी एसियाली मुलुकहरूबाट पर्यटकको आगमनमा आएको सुधारले समग्र संख्या उकास्न सहयोग पु¥याएको छ ।

नेपाल भित्रिने पर्यटकको स्रोत देशका आधारमा छिमेकी मुलुक भारत पहिलो स्थानमा कायम छ । सेप्टेम्बर महिनामा भारतबाट १७ हजार ४२५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १९.७५ प्रतिशत हिस्सा हो ।

अघिल्लो वर्षको सेप्टेम्बरमा भारतबाट १५ हजार ५५६ पर्यटक आएकामा यस वर्ष १२.०१ प्रतिशतको वृद्धि दर्ता भएको छ । दोस्रो स्थानमा रहेको छिमेकी मुलुक चीनबाट पर्यटक आगमन दोब्बरभन्दा बढीले बढेको छ ।

गत वर्षको सेप्टेम्बरमा ५ हजार २३७ जना चिनियाँ पर्यटक आएकामा यस वर्ष ११४.०९ प्रतिशतको ठूलो वृद्धिसहित ११ हजार २१२ जना भित्रिएका छन्, जसको योगदान कुल आगमनमा १२.७१ प्रतिशत छ ।

यस्तै, ९.४० प्रतिशत हिस्सासहित तेस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाबाट ८ हजार २९९ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही महिना (९ हजार ६७९ जना) को तुलनामा १४.२६ प्रतिशतले कम हो । अन्य प्रमुख स्रोत देशहरूमा चौथो स्थानमा रहेको श्रीलङ्काबाट ७ हजार १०८ जना (५३.९९ प्रतिशतले वृद्धि) र छैटौँ स्थानको बङ्गलादेशबाट ३ हजार ९६४ जना (३१.४८ प्रतिशतले वृद्धि) पर्यटक नेपाल भित्रिएका छन् ।

पाँचौँ स्थानमा रहेको अस्ट्रेलियाबाट ४ हजार ८४२ जना (२९.०४ प्रतिशतले कमी) र सातौँ स्थानमा रहेको बेलायत (युके) बाट ३ हजार ७२५ जना (२५.२२ प्रतिशतले कमी) पर्यटक आएका छन् ।

यसैगरी, आठौँ स्थानमा परेको जापानबाट ४५.३९ प्रतिशतको वृद्धिसहित २ हजार ६६ जना, नवौँ स्थानको जर्मनीबाट १ हजार ९७४ जना (११.४८ प्रतिशतले कमी) र दसौँ स्थानमा रहेको इजरायलबाट १ हजार ९५७ जना (१२.२८ प्रतिशतले वृद्धि) पर्यटक नेपाल आइपुगेका छन् ।

क्षेत्रगत आगमनको विश्लेषण गर्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । सार्क क्षेत्रबाट कुल ३० हजार ८५ जना (३४.०९ प्रतिशत हिस्सा) पर्यटक भित्रिएका छन्, जुन गत वर्षको तुलनामा २३.८८ प्रतिशतको वृद्धि हो । त्यसैगरी, सार्कबाहेकका अन्य एसियाली मुलुकहरूबाट ५७.९७ प्रतिशतको फराकिलो वृद्धिसहित १९ हजार ८८८ जना (२२.५४ प्रतिशत हिस्सा) पर्यटक भित्रिएका छन् ।

यद्यपि, युरोपेली र अमेरिकी महादेशका परम्परागत बजारहरूमा भने केही गिरावट आएको छ । युरोपबाट १५ हजार १४८ जना (१७.१७ प्रतिशत हिस्सा, ८.७३ प्रतिशतले कमी), अमेरिका महादेशबाट १० हजार १०७ जना (११.४५ प्रतिशत हिस्सा, १२.२९ प्रतिशतले कमी) र ओसिएनिया क्षेत्रबाट ५ हजार ४२२ जना (६.१४ प्रतिशत हिस्सा, २५.८७ प्रतिशतले कमी) पर्यटक आएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *