काठमाडौं । देशको झन्डा बोकेर अन्तर्राष्ट्रिय खेल मैदानमा पदक जित्ने नेपाली खेलाडीलाई स्वदेश फर्किने क्रममा भने आफ्नै निकायको कमजोर व्यवस्थापनले विमानस्थलमै ४० घण्टा अलपत्र पार्यो। एसियाली खेलकुदमा सहभागी भएर फर्किएको नेपाली महिला तथा पुरुष कबड्डी टोली निर्धारित उडानमा समस्या आएपछि बैंककस्थित सुवर्णभूमि विमानस्थलमा करिब दुई दिन रोकिएको हो।
जापानको ओसाकाबाट नेपाल फर्किने क्रममा टोली सोमबार बैंकक पुगेको थियो। त्यहाँबाट काठमाडौंका लागि निर्धारित उडानमा समस्या आएपछि खेलाडीहरू लामो समय विमानस्थलमै प्रतीक्षा गर्न बाध्य भएका थिए। यात्राको उचित व्यवस्थापन नहुँदा अन्तर्राष्ट्रिय प्रतियोगिताबाट फर्किएका खेलाडीले करिब ४० घण्टा विमानस्थलमै बिताउनुपरेको हो।
लामो प्रतीक्षापछि टोली बुधबार बिहान काठमाडौं आइपुगेको छ। प्रतियोगितामा देशका लागि पदक जितेर फर्किएका खेलाडीको यात्रा व्यवस्थापनमै यस्तो लापरबाही देखिएपछि सम्बन्धित सरकारी निकाय र खेलकुद पदाधिकारीको भूमिकामाथि प्रश्न उठेको छ।
एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीलाई स्वदेश फर्किने क्रममा सहज यात्राको व्यवस्था गर्नु सम्बन्धित निकायको जिम्मेवारी भए पनि बैंककमा भएको घटनाले त्यसको अभाव देखाएको छ।
खेलाडीलाई पदक जित्दा सम्मान गर्ने, उपलब्धिको चर्चा गर्ने र प्रोत्साहनका भाषण गर्ने राज्य संयन्त्रले उनीहरूलाई घर फर्किने सामान्य यात्रासमेत सहज बनाउन नसकेको भन्दै खेल क्षेत्रबाट असन्तुष्टि व्यक्त भएको छ। देशको प्रतिनिधित्व गरेर फर्किएका खेलाडीलाई विमानस्थलमै घण्टौं अलपत्र पार्ने अवस्थाले खेलाडी व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी टोलीको यात्रासम्बन्धी तयारीमाथि समेत प्रश्न खडा गरेको छ।
पदक जितेर देशको प्रतिष्ठा बढाउने खेलाडीले स्वदेश फर्किने क्रममा भोग्नुपरेको यो सास्तीले खेलकुद क्षेत्रमा उपलब्धि हासिल गर्ने खेलाडीप्रतिको राज्यको व्यवहार कस्तो छ भन्ने प्रश्न फेरि उठाएको छ।




