काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को स्वामित्वमा रहेको नेपाल अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) मा निजी कम्पनीको नियन्त्रण रहेको भन्दै अर्थ समिति बैठकमै प्रश्न उठेको छ। स्वतन्त्र लगानीकर्ता अजय श्रेष्ठले पुँजी बजारको प्रविधिमा सीमित पहुँच र डाटामाथिको कथित एकाधिकार अन्त्य गर्दै खुला प्रतिस्पर्धा र ‘फ्री एपीआई एक्सेस’को व्यवस्था गर्न माग गरेका छन्।
बुधबार अर्थ समिति बैठकमा बोल्दै श्रेष्ठले नेप्सेको स्वामित्वमा रहेको प्रविधि प्रणालीमा निजी कम्पनीको नियन्त्रण हुनु उपयुक्त नभएको बताए। नेपालमा पर्याप्त प्रविधि कम्पनी, डेभलपर र दक्ष जनशक्ति हुँदाहुँदै उनीहरूलाई पुँजी बजारको प्रविधि विकासमा सहभागी हुन नदिइएको उनको भनाइ थियो।
डाटामा पहुँच र एपीआई सीमित गर्दा प्रविधि विकास अवरुद्ध हुने भन्दै श्रेष्ठले धितोपत्र बोर्डले यस विषयमा अध्ययन गर्नुपर्ने बताए। धेरै प्रविधि कम्पनीलाई सहज एपीआई पहुँच दिने हो भने नेपाली पुँजी बजारको प्रविधि पूर्वाधार थप प्रतिस्पर्धी बन्न सक्ने उनको भनाई छ।
श्रेष्ठले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन गर्ने कम्पनीको स्वामित्व संरचनामाथि समेत प्रश्न उठाए। टीएमएस कम्पनीका सेयरधनीमा स्टक ब्रोकरसम्बद्ध व्यक्ति वा संस्था रहेमा स्वार्थको द्वन्द्व उत्पन्न हुनसक्ने भन्दै त्यस्ता कम्पनीको स्वामित्व परीक्षण र नियमन आवश्यक रहेको बताए।
‘टीएमएस कम्पनीको स्वामित्व संरचना जाँच गरिनुपर्छ र स्वार्थको द्वन्द्व व्यवस्थापन गरिनुपर्छ,’ उनले भने।
नेप्सेले आफ्नै सहायक कम्पनीमार्फत प्रविधि विकास गर्न सक्ने विकल्प अघि सार्दै श्रेष्ठले ठूलो संख्यामा प्रविधि कम्पनीलाई निःशुल्क एपीआई तथा प्राविधिक पहुँच उपलब्ध गराउनुपर्ने बताए। यस्तो व्यवस्था भए पुँजी बजारको प्रविधि विकासले नयाँ गति लिन सक्ने उनको दाबी छ।
श्रेष्ठले उद्यमीको मेहनत र व्यवसाय निर्माणमा योगदानलाई ‘स्वेट इक्विटी’का रूपमा मूल्याङ्कन गर्दै पुँजी बजारमार्फत पुँजी संकलन र उद्यमशीलता विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिए।




