बाँके । मायाप्रेम र शारीरिक सम्बन्धको जालमा पारेर ब्ल्याकमेलिङ गर्दै आपराधिक लाभ उठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौंको सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई गत असोज ५ गते काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार श्रेष्ठले २०८१ सालदेखि बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय एक पुरुषलाई निशाना बनाउँदै आएकी थिइन्। पूर्वयोजना बनाएर ती पुरुषलाई प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेपछि विभिन्न मुद्दामा फसाइदिने धम्की दिँदै पटक–पटक नगद तथा जिन्सी सामान असुलेको आरोप छ।
आपराधिक लाभ लिएर फरार रहेकी श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी प्रतित सिंह राठौरले जानकारी दिएका छन्।




