काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा सम्पन्न क्षेत्रीय तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै श्रेष्ठले निर्वाचनमा कोही व्यक्ति नहारेको र नेपाली कांग्रेसको जित भएको बताए ।
उनले भने, ‘धेरै साथीहरूलाई सर्वसम्मत गराउन कोसिस गर्दागर्दै पनि गर्न सकेनौँ । फलस्वरूप हामी लोकतान्त्रिक अभ्यासमा गयौँ ।’
श्रेष्ठले निर्वाचनबाट निर्वाचित भएर आएका नेतृत्वले प्रतिस्पर्धामा रहेका अन्य साथीहरूलाई कमजोर ठान्न नहुने बताए । उनले प्रतिस्पर्धा गरेका सबै नेता–कार्यकर्ता पार्टीकै भएकाले उनीहरूलाई समान व्यवहार गर्न आग्रह गरे ।
उनले लोकतान्त्रिक अभ्यासमा भएको निर्वाचनलाई व्यक्तिगत हार–जितका रूपमा लिन नहुने बताए ।
श्रेष्ठले संगठनको जितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । निर्वाचनमा पराजित भएका साथीहरूले हारको मनस्थिति बनाएर बस्दा मात्रै संगठन कमजोर हुने उनको भनाइ थियो ।
श्रेष्ठले ललितपुर कांग्रेसमा प्रतिस्पर्धाबाट बाहिर रहेका नेता–कार्यकर्तालाई विभिन्न तहमा समेटेर संगठनमा सहयात्रा गर्ने प्रतिबद्धता समेत जनाए ।
श्रेष्ठले अब कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा सकिएको भन्दै आगामी प्रतिस्पर्धा विपक्षीसँग हुने बताए । पार्टीभित्रको निर्वाचनमा देखिएको एकतालाई आगामी निर्वाचनमा पनि कायम राख्नुपर्ने उनको भनाइ थियो ।
श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताए । अघिल्लो स्थानीय निर्वाचनमा ललितपुरका ६ वटा पालिकामा कांग्रेस निर्वाचित हुनुमा पार्टीभित्रको एकता महत्वपूर्ण कारण रहेको उनको भनाइ थियो ।
उनले विगतमा टिकट वितरणका क्रममा आफू पनि पूर्वाग्रही बनेको स्वीकार गरे । कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, नेतृ धना खतिवडालगायतले सम्बोधन गरेका थिए ।




