काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।
कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता थियो।
कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष सिंहले बदलिँदो परिवेशअनुसार कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिइने बताइन्। कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले आवश्यक लगानी गर्ने उल्लेख गर्दै दक्ष कर्मचारीले कम्पनीको व्यवसाय प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने उनको भनाइ थियो।
कार्यक्रमका अवसरमा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’का लागि छनोट भएका कर्मचारीलाई सम्मान गरिएको थियो। इटहरीका शिवेश ठाकुर, बर्दिबासकी गीता कुमारी थिङ, काठमाडौंकी रुक्मणी कुमारी शर्मा, विरौटाका अनिल श्रेष्ठ, नेपालगञ्जका सुवासमणि पोखरेल र प्रमिला मल्ल तथा जाजरकोटका विष्णुजंग शाहीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहक नै व्यवसायको मुख्य स्रोत भएकाले सरल, छिटो र सम्मानजनक सेवा प्रवाहमा कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए। संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।
‘समस्या जहाँ भए पनि त्यो संस्थाकै समस्या हो’ भन्ने भावनाका साथ समाधान खोज्ने जिम्मेवार प्रयासले कम्पनीप्रति ग्राहकको विश्वास थप बलियो बनाउने उनको भनाइ थियो।
सम्पत्ति शुद्धीकरणदेखि एआईसम्म प्रशिक्षण
कार्यक्रममा कर्मचारीलाई विभिन्न विषयमा प्रशिक्षणसमेत दिइएको थियो। नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिमप्रति सचेत रहनुपर्ने बताए।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने संजोग कोइरालाले कर्मचारीको व्यवहार र आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए।
चारदिने कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिलाई लक्षित अतिरिक्त गतिविधिसमेत समावेश गरिएको थियो। कम्पनीका सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए। विभागीय प्रमुखसँग प्यानल डिस्कसन तथा कर्मचारीबीच परीक्षा पनि सञ्चालन गरिएको थियो।
त्यसैगरी अन्तरकर्मचारी फुटसल, टेबलटेनिस र टग अफ वारलगायतका खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। विजेता टोली र खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई रिफ्रेसमेन्टका लागि कर्णाली चिसापानीको भ्रमणसमेत गराइएको थियो।
कम्पनीले चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृति विकासमा योगदान पुग्ने अपेक्षा गरेको छ।




