काठमाडौं । रास्वपाका सांसद राजीव खत्रीले जेन्जी आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? भन्ने कुरा सदनबाटै सङ्कल्प प्रस्ताव पारित गर्न माग गरे।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खत्रीले जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो वा होइन भन्ने विषयमा सदनबाटै सङ्कल्प प्रस्ताव पारित गर्न माग गरे। आन्दोलन सचेत युवाहरूको विद्रोह भएको भए दोषीलाई कठघरामा उभ्याएर जेन्जी आन्दोलनका सहिदलाई न्याय दिने सङ्कल्प गर्नुपर्ने उनको भनाइ छ।
खत्रीले गत चैत १९ गते बसेको संसद्को पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेले ‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो’ भनेको स्मरण गरे। तर संसद्को ५८औँ बैठकसम्म आइपुग्दा सहिदकी आमाले नै आफ्नो अपमान भएको भन्दै रुनुपर्ने अवस्था आएको उनले बताए।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको अवस्थाप्रति संकेत गर्दै खत्रीले भने, “छोराको झोलामा कापी र किताब थियो, मुखमा भ्रष्टाचारविरोधी नारा थियो, छाती र टाउकोमा गोली हानियो।”
सहिदको रगत र आमाको आँसुको हिसाबकिताब गर्ने भनिए पनि अहिले सहिद परिवारले नै न्यायका लागि सदनमा आवाज उठाउनुपर्ने अवस्था आएको उनले बताए।
“जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? हो भने यही सदनबाट सङ्कल्प प्रस्ताव ल्याएर पास गरौँ। अनि दोषीलाई कठघरामा उभ्याएर जेन्जीलाई न्याय दिने सङ्कल्प गरौँ,” खत्रीले भने। नत्र सहिदकी आमाको आँसुले अवश्य पोल्नेछ ।




