तीन देशका लागि राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ। आइतवार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतहरु क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको अनुमोदन गरेको हो।

समितिका सभापति लक्ष्मणलाल कर्णले नेपाल सरकारद्वारा बंगलादेश, म्यानमार, ओमानका लागि नेपाली राजदूतको पदमा नियुक्तिको लागि प्रस्तावितहरुको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको घोषणा गरे।

समितिको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति व्यवस्थित गर्ने र त्यहाँ नेपालीहरुको समस्या समाधानमा केन्द्रित हुने बताए। उनले नेपाली विद्यार्थीहरुलाई उच्च स्तरको विश्वविद्यालयमा अध्ययन गर्न पाउने व्यवस्थामा जोड दिने, छात्रवृत्ति बाहेकका भिसामा बंगलादेश गएका विद्यार्थीहरुको समस्या समाधान गर्ने र उचित परामर्श पाउनुपर्ने व्यवस्थामा जोड दिने बताए।

त्यस्तै म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले म्यान्मारस्थित नेपाली राजदूतावासमा पर्यटन सम्पर्क व्यक्ति तोकी नेपालको पर्यटन सम्बन्धी सूचना, जानकारीको शीघ्र र निरन्तर रुपमा प्रवाह गर्ने कुरामा जोड दिने बताए।

त्यस्तै ओमानका लागि प्रस्तावित नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौताहरु कार्यान्वयन गर्न विशेष पहल गर्ने बताए। उनले थाँती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरूलाई अघि बढाउन र द्विपक्षीय सहयोग सम्झौताहरु कार्यान्वयन गर्न पनि पहल गर्ने बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *