एकै वर्षमा तीन गुणा बढ्यो महँगी, साउनमा मुद्रास्फीति ५.९६ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको सुरुआतमै बजारमा महँगीको चाप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो ।

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ऋणात्मक २.२८ प्रतिशत थियो भने गैरखाद्य तथा सेवा समूहको ३.९५ प्रतिशत थियो ।

खाद्य समूहमा घ्यू तथा तेलको मूल्य सबैभन्दा बढी बढेको छ । राष्ट्र बैंकका अनुसार घ्यू तथा तेलको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६२ प्रतिशतले बढेको छ । त्यस्तै फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले मूल्य बढेको छ ।

गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्यवृद्धि उच्च देखिएको छ । यातायातको मूल्य १३.१७ प्रतिशतले बढेको छ भने मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।

क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रको मुद्रास्फीति ६.१८ प्रतिशत र सहरी क्षेत्रको ५.८८ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ६.९४ प्रतिशत रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत छ ।

त्यस्तै काठमाडौं उपत्यकामा मुद्रास्फीति ४.८१ प्रतिशत, तराईमा ६.६४ प्रतिशत, पहाडमा ५.९५ प्रतिशत र हिमालमा ५.१० प्रतिशत रहेको छ ।

उता साउनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.२७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा थोक मुद्रास्फीति २.३७ प्रतिशत मात्रै थियो । यसले उपभोक्ता बजारसँगै थोक तहमा समेत मूल्यवृद्धिको दबाब बढेको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *