कोहलपुरबाट छुटेको ‘फोटोन ईभी’ गुड्दागुड्दै जल्यो, भ्यान पूर्ण क्षतिग्रस्त (तस्बिरहरु)

काठमाडौं । बिहानको समय थियो। कोहलपुरबाट कैलालीतर्फ एउटा ‘फोटोन ईभी’ भ्यान आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित पाँच नम्बर चोक नजिक पुग्दासम्म यात्रा सामान्य थियो। तर, महेन्द्र राजमार्गमै  गुड्दागुड्दै एक्कासी गाडीमा आगो लाग्यो।भ्यान जलेर खरानी हुँदा पूर्ण क्षतिग्रस्त बन्यो।

यो आज आइतबार बिहान करिब ६ः५० बजे भएको घटना हो।  सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको फोटोन ईभी भ्यानमा गुडेको केहीबेरमै धुवा आउन थाल्यो अनि आगो लाग्यो । उक्त गाडी कैलालीको धनगढी उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । गाडीमा चालक र सहचालक बाहेक अन्य यात्रु नरहेकाले ठुलो दुर्घटना र मानवीय क्षति टरेको प्रहरीले जनाएको छ । गाडीमा चालक र सहचालक मात्रै भएको र उनीहरू समयमै बाहिर निस्किन पाएपछि मानवीय क्षति भने हुन पाएन।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले भने, “कोहलपुरबाट कैलाली जाँदै गरेको ईभी हाइसमा गुड्दागुड्दै अचानक आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो । गाडीमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति हुन पाएन ।”

राजमार्गमै गाडीमा आगो लागेपछि घटनास्थलमा खटिएको सुरक्षाकर्मी र दमकलको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गर्‍यो। प्रहरीका अनुसार करिब बिहान ८ बजे मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। तर,  त्यतिबेलासम्म गाडी भने पूर्ण रूपमा जलेर क्षतिग्रस्त भइसकेको थियो।

बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार गाडी गुडिरहेको अवस्थामै अचानक आगलागी भएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्युतीय प्रणालीमा समस्या आएको हुनसक्ने आशंका गरिएको छ।

‘वायरिङमा सर्ट सर्किट भएर आगलागी भएको हो कि भन्ने प्रारम्भिक अनुमान छ,’ पौडेलले भने, ‘वास्तविक कारण भने प्राविधिक जाँचपछि मात्रै खुल्छ।’

आगोले गाडी मात्रै नष्ट गरेन, त्यसमा रहेका कागजपत्र र नगदसमेत जलेर नष्ट भए। बर्दिया प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार गाडीभित्र रहेको करिब ४२ हजार रुपैयाँ नगदसमेत आगलागीमा परेको थियो।

केहि दिन अघि मात्रै बीवाईडी एटो ३ मा ब्रेक नलागेर स्टेयरिङ लक हुँदा सांसद प्रकाश पाठकसहित झापाका दुई सांसद र अन्य व्यक्ति सवार गाडी भयानक दुर्घटना घटनामा परेको थियो। यसले इभी गाडीमा जडान भएका  ब्रेक, स्टेयरिङ र सुरक्षा प्रणालीबारे गम्भीर प्रश्न उठेको छ। दुर्घटनाका क्रममा एयरब्यागलगायतका सुरक्षा प्रणाली सक्रिय नहुँदा मानवीय जोखिम बढाएको छ।

ईभीमा आगलागीको जोखिमसँग जोडिने मुख्य पक्षमध्ये वायरिङ, विद्युतीय सर्किट, ब्याट्री र ब्याट्री व्यवस्थापन प्रणाली हुन्। तर , बर्दियामा आज भएको ‘फोटोन ईभी’ को घटनामा पनि प्रणालीमै  खराबी आएको प्रारम्भिक अनुमान छ तर यकिन भने भइनसकेको प्रहरीले जनाएको छ।

फोटोन ब्रान्डका विद्युतीय सवारी पछिल्ला वर्षमा नेपाली बजारमा देखिन थालेका छन्। प्रयोग बढ्दै जाँदा विद्युतीय सवारीको सञ्चालन, मर्मतसम्भार र सुरक्षा प्रणालीबारे पनि प्रश्न उठ्दै आएका छन्।

बर्दियाको यो घटनामा पनि सोहि कारण हुनसक्ने आंकलन गरिएको छ । यात्रुवाहक ईभी राजमार्गमै गुडिरहेको अवस्थामा अचानक आगलागी भएर पूर्ण रूपमा नष्ट भएपछि विद्युतीय सवारीमा प्रयोग हुने विद्युतीय प्रणाली र सुरक्षा संयन्त्र कति भरपर्दा छन् भन्ने प्रश्न फेरि सहतमा आएको छ। यस घटनामा प्रहरीले भने अहिले वायरिङमा भएको सम्भावित सर्ट सर्किटलाई प्रारम्भिक कारणका रूपमा मात्रै औंल्याएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *