काठमाडौं। आज विभिन्न ४ वटा संसदीय समितिको बैठक बस्ने भएको छ। संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिजिय र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो।
अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन/भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक,२०८३’ माथि सैद्धान्तिक छलफल तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा गत भदौ १० गते भोटेकोशी लगायतका नदीहरुमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।




