काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाहलाई अहंको तुष्टि त्यागेर कूटनीतिक विषयमा गम्भीर बन्न आग्रह गरेका छन्। भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउन नसक्दा नेपालको समग्र कूटनीतिक सम्बन्ध प्रभावित हुँदै गएको उनको टिप्पणी छ।—
खनालले मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै वैदेशिक मामिलामा भावनात्मक वा एकपक्षीय दृष्टिकोणबाट अघि बढ्न नहुने बताएका हुन्। ‘बालेन्द्र शाहले अहंको तुष्टि त्यागेर होसमा आउन जरुरी छ,’ उनले लेखेका छन्।
नेपालको परम्परागत छिमेक नीतिमा भारत र चीनसँगको सम्बन्धलाई समान दूरीमा राख्ने प्रयास हुँदै आए पनि पछिल्लो समय त्यसमा सन्तुलन कायम हुन नसकेको खनालको दाबी छ। शीतयुद्धकालमा तुलनात्मक रूपमा ठीकठाक रहेको नेपालको छिमेक नीतिको अन्तरसम्बन्धलाई समनिकटमा राखेर अघि बढाउन नसक्दा समग्र कूटनीतिक सम्बन्ध प्रभावित भएको उनले बताएका छन्।
खनालले विगतका राजनीतिक शक्तिहरूले भारत र चीनसँगको सम्बन्धलाई राष्ट्रिय हितभन्दा व्यक्तिगत, दलीय तथा राजनीतिक स्वार्थका आधारमा हेरेको आरोपसमेत लगाएका छन्। उनका अनुसार अहिले आफूलाई नयाँ राजनीतिक शक्ति दाबी गर्ने समूहहरू पनि कूटनीतिक क्षमता र ज्ञानको अभावमा महाशक्ति राष्ट्रको अन्धभक्तितर्फ उन्मुख हुँदै मुलुकलाई जोखिममा पारिरहेका छन्।
वैदेशिक मामिलामा कुनै एक राजनीतिक शक्ति वा सरकार मात्रले निर्णय गरेर अघि बढ्न नसक्ने उनको भनाइ छ। राष्ट्रिय हितसँग जोडिएका कूटनीतिक विषयमा प्रमुख राजनीतिक शक्तिहरूबीच साझा धारणा निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
‘वैदेशिक मामिलामा एक्लै निर्णय गर्न सक्ने ल्याकत कसैको हुँदैन,’ खनालले भनेका छन्, ‘कम्तीमा वैदेशिक मामिलामा सबै राजनीतिक शक्ति एक ठाउँमा आएर परिपक्व निर्णय नगर्ने हो भने मुलुकको दुर्घटना सन्निकट छ।’
उनको टिप्पणी प्रधानमन्त्री शाह नेतृत्वको सरकारको विदेश नीति र भारत–चीन सम्बन्ध व्यवस्थापनबारे पछिल्लो समय उठिरहेका प्रश्नसँग जोडिएको छ। खनालले वैदेशिक सम्बन्धलाई तत्कालीन राजनीतिक लाभ वा शक्ति प्रदर्शनको विषयभन्दा राष्ट्रिय हित र दीर्घकालीन रणनीतिक दृष्टिकोणबाट हेर्नुपर्ने संकेत गरेका छन्।




