काठमाडौं । वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्। सोमबार भएको सुनुवाइपछि न्यायाधीशत्रय वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दाका सबै सात प्रतिवादीलाई सफाइ दिएको हो।
विशेष अदालतको फैसलासँगै सिंहमाथि लगाइएको निलम्बन फुकुवा हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध अरूकी छोरीलाई आफ्नै छोरीको विवरण राखेर नागरिकता दिलाएको आरोपमा गत जेठ २५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि उनी स्वतः निलम्बनमा परेका थिए।
अख्तियारले सिंहसँगै नागरिकता दिलाउने प्रक्रियामा संलग्न रहेको आरोपमा तत्कालीन वडा सचिव, कार्यवाहक वडा अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयका तत्कालीन कर्मचारीलाई पनि प्रतिवादी बनाएको थियो।
तर विशेष अदालतले सोमबार गरेको फैसलामा सिंहसहित सबै सातै प्रतिवादीलाई आरोपबाट सफाइ दिएको हो।
अदालतको फैसलापछि सिंहमाथिको निलम्बन हट्ने भएकाले उनी पुनः वीरगन्ज महानगरपालिकाको मेयरका रूपमा काममा फर्कने बाटो खुलेको छ।




