भोटेकोशी बाढी: १,३९५ को शव फेला, ५,१३० जना अझै बेपत्ता

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन छन्।

सोमबार सार्वजनिक गरिएको अद्यावधिक विवरणअनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३६४ जनाको छ। नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ।

फेला परेका शवमध्ये हालसम्म १०४ जनाको मात्रै सनाखत भएको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षणलगायतका प्राविधिक प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७३७ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकालाई विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएको छ। तीमध्ये नुवाकोटमा १ हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना छन्।

बाढीमा घाइते भएका ३४१ जनालाई उपचारका लागि विभिन्न १९ वटा अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये २७८ जना उपचारपछि घर फर्किसकेका छन्। सुरक्षा निकायले सञ्चालन गरेका स्वास्थ्य शिविरबाट थप ९ हजार ३५८ जनाले उपचार सेवा लिएका छन्।

बाढीपछि प्रभावितमा परेको मानसिक असरलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ। यस्तै, नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श दिइएको प्रवक्ता महतले जानकारी दिइन्।

भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि उद्धार, बेपत्ताको खोजी, राहत तथा पुनर्स्थापनाका काम जारी छन्। राज्यका विभिन्न निकाय, सुरक्षा निकाय र स्थानीय तह प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *