ग्यास अभावको विरोधमा विद्यार्थी संगठनले गरे निगमको मुख्यालय घेराउ

काठमाडौं । खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। मूल्य बढाए पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उनीहरूले निगमविरुद्ध प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले थाल र खाली ग्यास सिलिन्डरसहित प्रदर्शन गर्दै ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’ लगायतका नारा लगाएका थिए। उनीहरूले मूल्यवृद्धिसँगै बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन निगम र सरकारसँग माग गरेका छन्।

आयल निगमले भने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि ग्यासको नियमित ढुवानी प्रभावित भएको बताउँदै आएको छ। सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाइएको निगमको दाबी छ।

सडक नियमित रूपमा सञ्चालनमा नआएसम्म तराई क्षेत्रमा रहेका उद्योगमा ग्यासका सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ।

तर निगमले आपूर्ति सहज भएको दाबी गरिरहे पनि बजारमा ग्यासको अभाव कायमै रहेको उपभोक्ताको गुनासो छ। ग्यासका लागि घण्टौं लाइन बस्नुपर्ने र कतिपय ठाउँमा सिलिन्डर नपाउने अवस्था रहेको भन्दै विद्यार्थी संगठनहरूले तत्काल आपूर्ति व्यवस्था सुधार्न माग गरेका छन्।

यसले ग्यासको मूल्यवृद्धिसँगै आपूर्ति व्यवस्थापनमा समेत निगममाथि प्रश्न उठाएको छ। सडक अवरोधलाई कारण देखाउँदै आएको निगमले वैकल्पिक मार्गबाट आपूर्ति गरिरहेको बताए पनि बजारमा त्यसको प्रभाव भने पर्याप्त रूपमा देखिन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *