काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्नमाथि कारबाही हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाको बैठकमा नेकपाका तर्फबाट बोल्दै सांसद वर्षमान पुनले जेनजी आन्दोलनले उठाएका प्रश्नलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताए। युवाहरू किन सडकमा आउन बाध्य भए, राज्यप्रति असन्तुष्टि किन बढ्यो र राजनीतिक नेतृत्वप्रति अविश्वास कसरी पैदा भयो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।
पुनले भदौ २३ र २४ गतेका घटनालाई फरक–फरक कोणबाट हेर्नुपर्ने बताए। उनका अनुसार भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासन तथा छिटोछरितो र भेदभावरहित सार्वजनिक सेवा प्रवाहको मागसहित युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
तर आन्दोलनका क्रममा १९ जनाको घटनास्थलमै मृत्यु हुने गरी गोली चलाइएको भन्दै उनले त्यसको आदेश कसले दिएको भन्ने विषय स्पष्ट हुनुपर्ने बताए। त्यसैगरी भदौ २४ गते सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्नलाई समेत उन्मुक्ति दिन नहुने उनको भनाइ थियो।
राष्ट्रपति कार्यालय, सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, प्रदेश तथा स्थानीय तहका कार्यालय, राजनीतिक दलका कार्यालय र नेताहरूका निवासमा भएको आगजनी तथा तोडफोड गम्भीर अपराध भएको पुनले बताए।
उनले आन्दोलनका क्रममा निहत्था युवाको मृत्यु भएको घटनामा संलग्नलाई समेत कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे। आन्दोलनका नाममा भएका सबै प्रकारका हिंसा र आपराधिक गतिविधिको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने नेकपाको धारणा रहेको उनले बताए।






