काठमाडौं । काठमाडौंको बालुवाटारस्थित आकाश फुड्सले खाद्य स्वच्छता तथा गुणस्तरमा गम्भीर लापरबाही गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिबाना तिरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको आकस्मिक बजार अनुगमनका क्रममा गन्हाएको आलु र म्याद गुज्रिएको लड्डु बिक्रीका लागि राखिएको भेटिएपछि व्यवसायमाथि कारबाही गरिएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको विभागले ‘र्यापिड रेस्पोन्स मोडालिटी’मा गरेको अनुगमनका क्रममा आकाश फुड्समा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने खाद्य सामग्री फेला परेको जनाएको छ ।
अनुगमनका क्रममा पानीपुरीमा प्रयोग गरिने आलुको स्टफिङ अस्वाभाविक रूपमा गन्हाएको अवस्थामा भेटिएको थियो । त्यस्तै, पसलमा म्याद गुज्रिएको विनाचिनीको लड्डु ८ बट्टा बिक्रीका लागि राखिएको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त लड्डुमा उत्पादन मिति २७ अगस्ट २०२५ उल्लेख गरिएको थियो । उत्पादित मितिबाट १५ दिनभित्र उपभोग गरिसक्नुपर्ने ‘बेस्ट बिफोर १५ डेज’ उल्लेख भए पनि तोकिएको अवधिपछि समेत बिक्रीका लागि राखिएको पाइएको हो ।
कैफियत भेटिएपछि अनुगमन टोलीले गन्ध आएको करिब १ सय ग्राम आलु तथा उपभोग्य मिति समाप्त भएका ८ प्याकेट लड्डु तत्काल नष्ट गरेको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आकाश फुड्सलाई ३ लाख रुपैयाँ जरिबाना गराउँदै आगामी दिनमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।
विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा लापरबाही नगर्न व्यवसायीलाई सचेत गराएको छ ।






