ग्यास आपूर्ति सहज बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ : नवनियुक्त मन्त्री साह

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने खाना पकाउने ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्नु रहेको बताएका छन्।

बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका मन्त्री साहले पत्रकारहरूसँग कुरा गर्दै जनताको दैनिक आवश्यकतासँग जोडिएका विषयलाई आफूले उच्च प्राथमिकतामा राख्ने बताए।

पछिल्लो समय देखिएको ग्यास अभावबारे सोधिएको प्रश्नमा मन्त्री साहले जनतालाई आवश्यक मात्रामा ग्यास उपलब्ध गराउनुपर्ने बताए। ‘जनतालाई जति आवश्यक छ, त्यो दिनैपर्छ । यस विषयमा छलफल गरेर आवश्यक कदम चाल्नेछौँ,’ उनले भने।

मन्त्री साहले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै विगतमा भएका कामकारबाही र पूरा हुन बाँकी योजनाबारे जानकारी लिएर अघि बढ्ने बताए। त्यसका लागि उनले निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग विगतका काम तथा बाँकी रहेका कार्ययोजनाबारे जानकारी लिने बताए।

मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका साहले शिष्टता र श्रद्धा प्रदर्शनसमेत गरेका थिए। मन्त्रालयको प्रवेशद्वारमै जुत्ता खोलेर कार्यकक्षमा प्रवेश गरेका उनले कार्यकक्षमा राखिएको नेपालको राष्ट्रिय झण्डालाई निहुरिएर ढोग्दै पदभार ग्रहण गरेका थिए।

निवर्तमान मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *