राष्ट्रिय सभामा मन्त्री गौतमले मागिन् माफी : ‘हृदयमा चोट पुगेको भए क्षमाप्रार्थी छु’

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूले बोलेको अभिव्यक्तिले चोट पुर्‍याएको भए क्षमा माग्छु भनेकी हुन् ।

उनले भनिन्, ‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।’ उनले भदौ २३ गतेको कार्यक्रममा राष्ट्रिय सभाले कानुन निर्माणका क्रममा असहयोग गरेको बताएकी थिइन् ।

मन्त्री गौतमले भने आफूले बोलेका विषयलाई गलत ढंगले व्याख्या गरिएको दाबी गरिन् । उनले संसद्का दुवै सदनबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आफूले कुनै पनि सदनको अपमान नगरेको स्पष्ट पारिन् । ‘जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण र संविधान संशोधनका विषयमा मैले तथ्यभन्दा बाहिर गएर केही बोलेकी छैन । मैले राष्ट्रिय सभाले असहयोग गर्‍यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन । माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ,’ उनले भनिन् । कानुन निर्माणको प्रक्रिया प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने भएकाले दुवै सदनबीच सहकार्य अपरिहार्य रहेको उनले बताइन् ।

‘प्रतिनिधिसभाले दुई तिहाइ मत दिए पनि कानुन निर्माणका लागि दुवै सदनको सहकार्य अनिवार्य छ,’ मन्त्री गौतमले भनिन् । आफ्नो अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएको उल्लेख गर्दै उनले त्यसबाट राष्ट्रिय सभाका सदस्यहरूको भावनामा चोट पुगेको हुनसक्ने भन्दै दुःख व्यक्त गरिन् ।

आफूले नबोलेका विषयको जिम्मेवारी लिन नसक्ने स्पष्ट पार्दै मन्त्री गौतमले आगामी दिनमा संसद्का दुवै सदनबीच सुमधुर सहकार्य गर्दै कानुन निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाइन् । ‘मैले बोकेको हदसम्म म जवाफ दिन तयार छु । हामी मिलेर नै कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्छ,’ उनले भनिन् ।

पछिल्लो समय कानुन निर्माणमा ढिलाइ भएको भन्ने गुनासो बढिरहेको भन्दै मन्त्री गौतमले छिटोछरितो कानुन निर्माणका लागि सरकार र संसद्का दुवै सदनबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *