‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’ ले सम्मानको अर्थ नबुझ्नु स्वभाविकै हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्।

बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्नु रहेको दाबी गरिन्।

नयाँ सरकार गठन भएपछि सुदन गुरुङ गृहमन्त्री नियुक्त भएको खबर सार्वजनिक भएलगत्तै ओलीलाई पक्राउ गरिने आशंका आफूलाई लागेको शाक्यले बताइन्। त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी रातको समयमा बालकोट क्षेत्र घेराबन्दी गरेर ओली र लेखकलाई पक्राउ गरिएको उनको आरोप छ।

उनका अनुसार पक्राउअघि ओली निवासमा खानतलासी हुने हल्लासमेत फैलाइएको थियो। त्यसले ओली परिवारसँगै स्थानीय बासिन्दामा समेत त्रास सिर्जना भएको शाक्यको दाबी छ।

शाक्यले उक्त घटनालाई सरकारको प्रतिशोधपूर्ण राजनीतिको उदाहरणका रूपमा व्याख्या गरिन्। ‘खरानी ग्याङको ग्याङले सम्मानको अर्थ नबुझ्नु पनि स्वाभाविकै हो,’ उनले भनिन्, ‘उनीहरूलाई सम्मान भनेको के हो भन्ने सायद थाहा छैन।’

सुदन गुरुङ गृहमन्त्री नियुक्त भएको खबर सुन्नासाथ ओलीलाई तत्काल पक्राउ गरिने आशंका आफूले गरेको उनले बताइन्। ‘दिउँसो सुदन गुरुङ भन्ने गृहमन्त्रीमा नियुक्त भयो रे भन्ने कुरा सुन्नासाथ मैले त शंका गरेको थिएँ, अब तुरुन्तै यिनीहरूले केपी सरलाई गिरफ्तार गर्छन् भनेर,’ उनले भनिन्।

बालकोटमा ठूलो संख्यामा प्रहरी परिचालन गरी रातको समयमा गरिएको कारबाहीले परिवार र स्थानीयस्तरमा भयको वातावरण सिर्जना गरेको शाक्यको दाबी छ। उनले घटनालाई राजनीतिक प्रतिशोधका रूपमा प्रस्तुत गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *