काठमाडौं । जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा ऐतिहासिक सम्पत्तिमा भएको क्षतिको जिम्मेवारलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा पूर्वमन्त्री ढुंगानाले राखेका छन् । उनले दोषीलाई कारबाही नगर्दा गलत नजिर बस्न सक्ने भन्दै घटनाको निष्पक्ष र शीघ्र छानबिन गर्नुपर्ने बताए ।
‘सिंहदरबारदेखि देशका ऐतिहासिक धरोहरसम्म जलाउने काम भएको छ भने त्यसमा संलग्न व्यक्तिलाई दण्डहीनता दिनु हुँदैन,’ उनले भने ।
यस्ता घटनाको अनुसन्धानका लागि छुट्टै न्यायिक आयोग गठन गर्न वा मुद्दा छिटो टुंग्याउन विशेष इजलास गठन गर्न सकिने उनको सुझाव छ । आन्दोलनका क्रममा निर्दोष व्यक्ति पनि पक्राउ परेको हुन सक्ने भन्दै उनले उनीहरूको समेत शीघ्र छानबिन गरी निर्दोष देखिए तत्काल रिहा गर्नुपर्ने बताए ।
‘प्रतिशोधबाट राज्य चल्दैन’
राज्यले कसैप्रति प्रतिशोधको भावना राख्न नहुने ढुंगानाको भनाइ छ । कसैले गलत गरेको भए कानुनी प्रक्रियामार्फत अनुसन्धान, अभियोजन र कारबाही गर्नुपर्ने उनले बताए ।
‘राज्यले सबैलाई समान नजरले हेर्नुपर्छ । कसैले गलत गरेको छ भने कानुनी प्रक्रियाबाट अनुसन्धान, अभियोजन र कारबाही गर्नुपर्छ । प्रतिशोध साँधेर राज्य चल्दैन,’ उनले भने ।
आफूले राज्य संयन्त्रमा प्रतिशोधको आभास पाएको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।
‘सरकार जनताको बीचबाट चल्नुपर्छ’
ढुंगानाले सरकार काठमाडौंमा सीमित नभई नागरिकको नजिक पुगेर उनीहरूका वास्तविक समस्या बुझ्नुपर्नेमा जोड दिए । गरिब, मजदुर तथा निमुखा नागरिकका समस्या पहिचान गरी उनीहरूकै पक्षमा नीति बनाउनुपर्ने उनको भनाइ छ ।
‘सरकार जनता र ग्राउन्डको नजिक हुनुपर्यो । काठमाडौंको एउटा कुनामा बसेर स्टाटस लेख्दैमा देशको वास्तविक अवस्था र यहाँका अन्तरविरोध बुझिँदैन,’ उनले भने, ‘त्यो नबुझी देश विकासको परिकल्पना मात्रै गर्न सकिन्छ, त्यसलाई वास्तविकतामा परिणत गर्न सकिँदैन ।’
वर्तमान सरकारप्रति आफू आशावादी रहेको उनले बताए । तर सरकारले अपेक्षित परिणाम दिन नसके वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस हुन सक्ने उनको भनाइ छ ।
‘अहिले हामी आशावादी हौँ । यदि यो सरकार वा सत्तासीन दल सफल भएन भने हामी तेस्रो धारको परिकल्पना गर्दैछौँ,’ उनले भने ।
‘अहिले आन्दोलनको पक्षमा छैनौँ’
सामाजिक सञ्जालमा आफू फेरि आन्दोलनको तयारीमा रहेको भन्दै फैलाइएको प्रचारको ढुंगानाले खण्डन गरेका छन् । आफू आन्दोलनलाई ‘रोमान्टिसाइज’ गर्ने पक्षमा नरहेको उनले बताए ।
‘आन्दोलन भयो कि फेरि देश अस्थिर हुन्छ । काम कहिले गर्ने ? आन्दोलन सधैँ गर्ने कुरा होइन,’ उनले भने ।
उनका अनुसार निश्चित परिस्थितिमा आन्दोलन आवश्यक हुन सक्छ । तर सत्ता परिवर्तनका लागि निरन्तर आन्दोलन गरिरहनु उचित हुँदैन ।
‘यदि आन्दोलन आवश्यक पर्ने अवस्था आयो भने त्यो समयले ल्याउने कुरा हो । मैले भनेर आन्दोलन हुने होइन,’ उनले भने ।
भदौ २३ र २४ गते पुनः आन्दोलन गर्न लागेको भन्दै सामाजिक सञ्जालमा गरिएको प्रचार आफूविरुद्धको गलत सूचना भएको उनको दाबी छ । यस्तो प्रचारमा सत्तासीन दलसँग जोडिएका ‘साइबर सेना’ संलग्न रहेको आफूले देखेको उनले बताए ।
‘द्रुतगतिमा छानबिन होस्, निर्दोष छुटून्’
जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रिया छिटो टुंग्याउनुपर्ने ढुंगानाले बताए । अनुसन्धान नगरी सबैलाई छाड्ने र दोषी–निर्दोष नछुट्याउने दुवै प्रवृत्ति गलत हुने उनको भनाइ छ ।
‘प्रोसिक्युसन नगरी, ट्रायल नगरी सबैलाई छोड्ने कुरा हुँदैन । तर निर्दोष फसेका छन् भने उनीहरूलाई पनि छिटो न्याय दिनुपर्छ,’ उनले भने ।
दोषी प्रमाणित भएकालाई कानुनअनुसार पूर्ण सजाय दिनुपर्ने उनले बताए ।
‘सरकार पाँच वर्ष टिकेर काम गरोस्’
वर्तमान सरकार पाँच वर्षसम्म टिकेर काम गरोस् भन्ने आफ्नो चाहना रहेको ढुंगानाले बताए । नेपालको राजनीतिक इतिहासमा सरकारहरू पूर्ण कार्यकाल टिक्न नसकेको उल्लेख गर्दै उनले यसपटक स्थिर सरकार आवश्यक रहेको बताए ।
‘जिम्मेवारी लिइसकेपछि पूरा गर्नुपर्छ । यो सरकार पाँच वर्ष नै टिकेर काम गरोस् भन्ने मेरो चाहना हो,’ उनले भने ।
तर पाँच वर्षसम्म पनि सरकारले अपेक्षित काम गर्न नसके सत्तारूढ दलका नेताहरू राजनीतिक रूपमा कमजोर हुने उनले बताए ।
‘कथा अझै बाँकी छ’
जेनजी आन्दोलनपछि आफूले गरेका निर्णय तथा आफूविरुद्ध लगाइएका आरोपबारे अहिले नै विस्तृत प्रतिक्रिया दिन आवश्यक नरहेको ढुंगानाले बताए ।
‘संक्रमणकाल निकै टर्बुलेन्ट थियो । धेरै आपत्कालीन निर्णय लिनुपर्यो । मेरो बारेमा विभिन्न किसिमका मिसअन्डरस्ट्यान्डिङ र आरोप पनि लगाइए,’ उनले भने, ‘तर केही भएको छैन । कथा अझै बाँकी छ ।’
सरकार गठन भएको पाँच महिना मात्रै भएकाले आगामी दिनमा घटनाक्रम आफैं स्पष्ट हुँदै जाने उनको भनाइ छ ।
उनका अनुसार जेनजी आन्दोलनका प्रमुख उपलब्धिमध्ये पुस्तान्तरण र नागरिकमा राजनीतिप्रतिको बढ्दो चासो हुन् ।
‘एउटा पुस्तान्तरण भयो । अर्को, नागरिकहरू राजनीतिप्रति अझ बढी रुचि राख्न थाले । यी दुई कुरा आन्दोलनका प्रमुख देन हुन् जस्तो लाग्छ,’ उनले भने ।




