काठमाडौं । प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिक तथा आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले राज्य र सरकार पीडितको साथमा रहेको बताएका हुन्।
‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ,’ प्रधानमन्त्री शाहले भनेका छन्।
नुवाकोटको विदुर–१० बेत्रावतीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको घटनाले देशभर आशा जगाएको उनले उल्लेख गरेका छन्। उनका अनुसार यसले खोज तथा उद्धार कार्य अझै तीव्र रूपमा भइरहेको सन्देशसमेत दिएको छ।
सरकारले चन्द्रिका श्रेष्ठको उमेर समूह र त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको प्रधानमन्त्रीले बताएका छन्।
बाढीका क्रममा कतिपय ज्येष्ठ नागरिकले कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भाग्दै ज्यान जोगाउनुपरेको उनले उल्लेख गरेका छन्। जीवनको उत्तरार्धमा यस्तो कठिन परिस्थिति सामना गर्नुपरेको भन्दै उनले विपत्तिको समयमा आफ्ना सन्तान जोगाउन ज्येष्ठ नागरिकले देखाएको साहसको चर्चा गरेका छन्।
बाढीका कारण वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसमेत सुरक्षित स्थानतर्फ सारिनुपरेको प्रधानमन्त्रीले बताएका छन्। वर्षौँदेखि चौतारीमा बसेर छिमेकीसँग दुःखसुख र अनुभव साट्दै आएका ज्येष्ठ नागरिकको दैनिकीसमेत बाढीले प्रभावित बनाएको उनको भनाइ छ।
कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी तथा नातिनातिना बगेको देख्नुपरेको र कतिपयले जीवनसाथी गुमाएर एक्लिनुपरेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जना ज्येष्ठ नागरिकलाई काठमाडौंको नेपाल सिनियर केयर, म्हैपीमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ।




