काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ। जेनजी आन्दोलनमा सबै भवन जलेपछि अस्थायी रूपमा नयाँ भवनमा सरेको सर्वोच्चमा आगलागी भएको हो।
आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
आगोले विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति नगरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । उनका अनुसार, आगोले अभिलेख शाखा रहेको कोठाबाट अन्यत्र असर गरेको छैन ।
अदालतहरूले फैसला भइसकेका मुद्दा र त्यसका कागजात भण्डारण गर्न अभिलेख शाखा बनाएका हुन्छन् । निश्चित समयपछि अभिलेख शाखाबाट मुद्दाका अरू मिसिलहरू नष्ट गरी फैसलाहरू मात्रै सुरक्षित गरिन्छ । नयाँ भवन बनाउने क्रम चलिरहेकाले निर्माणाधिन अभिलेख शाखामा काम नलाग्ने र प्रयोगविहिन फाइल र कागजात मात्रै राखिएको प्रवक्ता कोइरालाले बताए ।





