काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो।
बुधबार अर्थ मन्त्रालय पुगेर प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
बैंकका अनुसार २०८३ भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारमा रहेका बासिन्दाको ठूलो जनधनको क्षति भएको थियो। विपद्का कारण प्रभावित परिवारको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले सरकारलाई आर्थिक सहयोग गरेको जनाएको छ।
बैंकले बाढी तथा विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गरेको छ। साथै, प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना समेत व्यक्त गरेको छ।




