काठमाडौँ । बाढी तथा प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल फोन तथा अन्य कागजात गुमाएका ग्राहकले अब कागजातबिनै बैंकिङ सेवा लिन पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै विपद्बाट प्रभावित ग्राहकको पहिचान संस्थासँग रहेको ग्राहक विवरण (केवाईसी), हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा यकिन गरी वित्तीय सेवामा पहुँच सुनिश्चित गर्न निर्देशन दिएको हो।
‘हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपतबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणको आधारमा ग्राहक यकिन गरी वित्तीय सेवाको पहुँच सुनिश्चित गर्नु,’ परिपत्रमा भनिएको छ ।
ग्राहकलाई आवश्यक सहयोग सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।






