काठमाडौं । यहि भदौ १० गते रसुवामा आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ।
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यका भित्रिने हजारौँ ट्रक तथा कन्टेनर बाटोमै रोकिएका छन्। चीनसँगको प्रमुख रसुवागढी नाका पनि बन्द रहेकाले आयात तथा व्यापारमा समेत असर परेको छ।
बाढीका कारण भन्सार क्षेत्रमा रहेका कतिपय कन्टेनर र सामानसमेत बगेका छन्। यसले व्यवसायीलाई ठूलो क्षति पुर्याउनुका साथै बजारमा सामानको उपलब्धतामै समस्या ल्याउन सक्ने देखिएको छ।
विशेषगरी खाद्यान्न, तरकारी, ग्यास र इन्धनको आपूर्ति प्रभावित हुनसक्ने भन्दै चिन्ता बढेको छ। पृथ्वी राजमार्ग काठमाडौंको मुख्य आपूर्ति मार्ग भएकाले यो लामो समय बन्द रहे उपत्यकामा अभावको अवस्था आउन सक्ने अर्थविद्हरूको भनाइ छ।
वैकल्पिक मार्गबाट सामान ल्याउँदा समय र ढुवानी खर्च बढ्ने भएकाले त्यसको प्रत्यक्ष असर उपभोक्ताको मूल्यमा पर्न सक्छ। न्यून आय भएका परिवार यसबाट अझ बढी प्रभावित हुने देखिएको छ।
अझै ठूलो चिन्ता त मुखैमा आएको दसैँलाई लिएर देखिएको छ। दसैँका लागि चीनबाट आउने लत्ताकपडा, जुत्ता लगायतका सामान अहिले बजारमा पुग्नुपर्ने भए पनि धेरै सामान बाटोमै रोकिएका छन्। अधिकांश ढुवानी तथा सामान बाढीले बगाएका कारण बजारमा आपूर्ति घट्ने सम्भावना अत्यधिक छ। आपूर्ति घटेमा माग बढ्ने दसैँको समयमा सामानको मूल्य थप बढ्न सक्ने व्यवसायी तथा अर्थविद्हरूको आंकलन छ।
यता, सरकारले आपूर्ति सहज बनाउन कान्ति लोकपथलगायत वैकल्पिक मार्ग प्रयोग गर्ने तयारी थालेको बताएको छ। ठूला ट्रक चल्न नसक्ने अवस्थामा साना सवारी साधनमार्फत सामान ल्याउने तयारी पनि भइरहेको सरकारको दावी छ। तर, विनासकारी बाढी देशभर पुर्याएको क्षति हेर्ने हो भने दशैँ आगाडि राजमार्ग खुल्ने र ठूला सवारी तथा मालबहाक उपत्यका भित्रिने सम्भावना ज्यादै न्यून देखिन्छ।
सरकारले भने खाद्यान्न, चिनी र पेट्रोलियम पदार्थलाई प्राथमिकतामा राखेको जनाएको छ। तर, पृथ्वी राजमार्ग र रसुवागढी नाका कहिलेसम्म पूर्णरूपमा सञ्चालनमा आउँछन् भन्ने निश्चित छैन। त्यसैले बाढीको असर अब बजारसम्मै पुग्ने र दसैँमा अभावसँगै महँगी बढ्न सक्ने चिन्ता बढेको छ।




