काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको १० भदौको विनासकारी बाढीले ६ हजार हाराहारी निजी घर बगेको अनुमान सरकारले सार्वजनिक गरेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बाढीबाट निजी आवासतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
पूर्वाधार विकास मन्त्रालय मातहतका विभागहरूले पत्रकारसँग गरेको छलफलमा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन् ।
बाढीका कारण ४५ सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको अनुमान गरिएको छ । यद्यपि यो अझै अध्ययनकै क्रममा रहेका कारण संख्या तलमाथि हुन सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार ६ हजार घरका लागि त्यति नै अस्थायी आवास निर्माण गर्ने हो भने कम्तिमा ९० करोड हाराहारी रकम तत्काल आवश्यक पर्ने अनुमान गरिएको विभागले जानकारी दिएको छ ।




