काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ र कर्मचारीको तर्फबाट २० लाख रुपैयाँ गरी कुल ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।
उक्त रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले माननीय अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न विपद्मा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ । बैंकले यस विपद्मा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ ।




