Pकाठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका अनुसार गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रानसहित आएको बाढीबाट भएको जनधनको क्षतिपछि प्रभावितको राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले रकम बराबरको चेक बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
कम्पनीले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा सक्रिय हुन आफ्ना कर्मचारी र अभिकर्तालाई आग्रह गरेको छ ।
बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेशनल लाइफले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।




