काठमाडौं। भृकुटीमण्डपमा ९ भदौदेखि जारी १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ५०औँ स्वर्णजयन्तीका अवसरमा आयोजित प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, अटो पार्टपुर्जा तथा वित्तीय सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।
प्रदर्शनीमा २०० भन्दा बढी स्टल राखिएका थिए। नाडाका अनुसार २५ प्यासेन्जर भेहिकल, १७ लाइट कमर्सियल भेहिकल, १३ दुईपांग्रे ब्रान्ड तथा १५ बैंक, वित्तीय संस्था र बिमा सेवा प्रदायक सहभागी थिए।
यस वर्षको शोमा नयाँ मोडलका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन मुख्य आकर्षण बने। विभिन्न ब्रान्डले नेपालमा पहिलोपटक नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरेका थिए।
विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) को उल्लेख्य उपस्थिति रह्यो। नयाँ पुस्ताका ईभी, इलेक्ट्रिक मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले पनि दर्शकको ध्यान खिचेका थिए। बीवाईडी, टाटा, दिपल, नामी, अवतार, जेइकु, चेरी र डङफेङलगायत ब्रान्डका नयाँ मोडल प्रदर्शनीका प्रमुख आकर्षण बने।
अटो शोमा सवारीसाधनसँगै अटो कर्जामा बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धासमेत देखियो। उपभोक्तालाई आकर्षित गर्न बैंकहरूले कम ब्याजदर, सेवा शुल्कमा छुट तथा ब्याजदरमा लाग्ने प्रिमियममा छुटजस्ता योजना ल्याएका थिए। केही बैंकले विद्युतीय सवारीसाधन खरिदका लागि विशेष कर्जा सुविधा र कम ब्याजदरका योजना अघि सारेका थिए।
शो सञ्चालन भइरहेका बेला भोटेकोशी, त्रिशूलीलगायत नदी प्रणालीमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो। यस्तो कठिन परिस्थितिमा पनि अटो शो निरन्तरता पाउनु उद्योगी–व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम र सर्वसाधारणको सहयोग तथा विश्वासको परिणाम भएको नाडाले जनाएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवभन्दा पीडाको अनुभूति बढी भए पनि जीवन सधैं एउटै ठाउँमा रोकिन नसक्ने बताए।
‘विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ । तर हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन,’ उप्रेतीले भने, ‘कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाउनुभएको सहयोग, सद्भाव र विश्वासले हामीलाई मजबुत बनाएको छ।’
उनका अनुसार अटो शो सवारीसाधन बिक्री गर्ने थलोमा मात्र सीमित नभई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने र उद्योगका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण माध्यम बनेको छ।






