ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
कांग्रेसले सरकारले राहत तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्नेमा जोड दिएको छ। विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै खोज तथा उद्धारलाई परिणाममुखी बनाउनुपर्ने कांग्रेसको भनाइ छ।
सरकारको क्षमताले नभ्याए अन्तर्राष्ट्रियस्तरका विज्ञ तथा विशेषज्ञको सहयोग लिनसमेत कांग्रेसले आग्रह गरेको छ। साथै, राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिई पीडितसम्म तत्काल राहत पुर्याउनुपर्नेमा पार्टीले जोड दिएको छ।
कांग्रेसले रसुवा र नुवाकोटमा पर्यटन तथा व्यवसायका क्रममा पुगेका अन्य जिल्लाका नागरिकसमेत बाढीबाट प्रभावित भएको भन्दै उनीहरूको खोजी, उद्धार र सुरक्षामा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरेको छ।





