काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो–२०२६’ आजबाट सकिँदैछ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को आयोजनामा मंगलबारदेखि सुरु भएको १८औँ संस्करणको अटो शोमा सुरुवातमा भीड देखिएपनि उद्घाटन समारोहपछिका दुई दिनमा भने विनाशकारी विपत्तिको असर देखिएको हो । तर, शनिबार भने अवलोकनकर्ताको भीड बढेको ‘नाडा अटो शो २०२६’का संयोजक अनुप वरालले जानकारी दिए ।
शोमा नयाँ सवारीसाधन, विद्युतीय गाडी, अत्याधुनिक प्रविधि तथा अटोमोबाइल्ससम्बन्धी विभिन्न उत्पादन प्रदर्शनीमा राखिएका छन्।
करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना गरिएको शोमा २०० भन्दा बढी स्टल रहेका छन्। विभिन्न दुईपांग्रे तथा चारपांग्रे सवारी ब्रान्डसँगै अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीको समेत सहभागिता रहेको छ।
नाडा अटो शोको अन्तिम दिन अर्थात् आज दर्शकको उल्लेख्य उपस्थिति रहने आयोजकले अपेक्षा गरेको भएपनि हालै रसुवाको भोटेकोशीमा आएको बाढीको असर प्रदर्शनीमा पनि देखियो। यधपि नयाँ सवारीसाधन तथा प्रविधि अवलोकन गर्न र विभिन्न ब्रान्डका उत्पादनबारे जानकारी लिनका लागि अटोप्रेमी तथा उपभोक्ताहरू भने भृकुटीमण्डप पुगिरहेका छन्।






