काठमाडौं। बिहीबार सेयर बजारमा सिमेन्ट तथा उत्पादनमूलक कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यधपि सिमेन्ट कम्पनीको शेयर मूल्य बढेपनि समग्र नेप्से परिसूचक भने सामान्य अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा नेप्से १.०४ अंक अर्थात् ०.०४ प्रतिशतले घटेर २ हजार ५५७ दशमलव ३१ विन्दुमा झरेको हो।
शेयर बजारमा परिसूचक घटे पनि आज अधिकांश कम्पनीको सेयर मूल्य भने बढेको छ। बिहीबार कारोबारमा आएका १४६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ११८ कम्पनीको मूल्य घटेको र १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
कुल ५२ हजार ५७५ पटकको कारोबारमा ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस क्रममा १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर कारोबार भएको छ।
उपसमूहतर्फ बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूह बढेका छन्। यता जलविद्युत्, जीवन बिमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूह घटेका छन्।
निर्जीवन बिमा समूह २०३.४२ अंक, जीवन बिमा २८.२० अंक र जलविद्युत् समूह १९.७८ अंकले घटेको छ। उत्पादन तथा प्रशोधन समूह भने १७९.१४ अंकले बढेको छ भने होटल तथा पर्यटन समूह २९.६३ अंकले उक्लिएको छ।
कम्पनीगत रूपमा सर्वोत्तम पेन्टस् इन्डस्ट्रिजको सेयर मूल्य १५ प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेक लागेको छ। घोराही सिमेन्ट इन्डस्ट्रिजको सेयर मूल्य ८.१९ प्रतिशत, सोनापुर मिनरल्स एन्ड आयलको ५.०५ प्रतिशत, भगवती हाइड्रोपावरको ४.७२ प्रतिशत र पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४.५३ प्रतिशतले बढेको छ।
यसको विपरीत माथिल्लो हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९.४५ प्रतिशत, त्रिशुली जलविद्युत् कम्पनीको ९.२३ प्रतिशत, इमर्जिङ नेपालको ८.३८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ८.३८ प्रतिशत र माथिल्लो मैलुङ खोलाको ८ प्रतिशतले घटेको छ।
समग्रमा बिहीबारको कारोबारमा नेप्से सामान्य घटे पनि कारोबार रकम र बजारको चौडाइ हेर्दा लगानीकर्ताको सक्रियता कायम रहेको र विशेषगरी उत्पादन तथा सिमेन्ट समूहमा लगानीकर्ताको आकर्षण बढिरहेको देखाएको छ।




