बाढी प्रभावित ऋणीको कर्जा पुनर्संरचना गर्न बैंकहरूलाई सीबीफीनको आग्रह

काठमाडौँ। बाढी प्रभावित ऋणीको कर्जा पुनर्तालिकीकरण/पुनर्संरचना र ब्याज भुक्तानीमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्था (सीबीफीन)ले बैंकहरुलाई आग्रह गरेको छ । सीबीफीनले बिहीबार विज्ञप्ति जारी गरेर कठिन परिस्थितिमा मानवीय उद्धार तथा राहत, कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता रहेको जनाएको छ ।

प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक प्रबन्ध गरिरहेका छन् । ‘वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्यांकन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण/पुनर्संरचना, किस्ता तथा ब्याज भुक्तानीमा सहजीकरण र व्यवसाय पुनःसञ्चालन तथा पुनर्निर्माणका लागि उपयुक्त सहयोग उपलब्ध गराउनु,’ विज्ञप्तिमा भनिएको छ ।

सीबीफीनले आफ्ना सदस्य संस्थाका सञ्चालक समितिमार्फत आवश्यक समन्वय र सहजीकरण गर्ने जनाएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समेत समन्वय गरी उपयुक्त नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न सीबीफीन प्रयासरत रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

यस विपद्ले बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

प्रभावित क्षेत्रका जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकाले यसको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने देखिएको सीबीफीनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *