बाढी तथा पहिरो प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेट निःशुल्क

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति ऐक्यबद्धता जनाउँदै डिसहोमले प्रभावित क्षेत्रमा आफ्ना इन्टरनेट ग्राहकलाई १५ दिनको निःशुल्क सेवा उपलब्ध गराउने भएको छ।

प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भन्दै कम्पनीले प्रभावित ग्राहकलाई थप निःशुल्क सेवा दिने निर्णय गरेको हो।

डिसहोम इन्टरनेटको पहुँच रहेका त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रमा यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

डिसहोमले विपद्को कठिन परिस्थितिमा आफ्ना ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता, सूचना पहुँच र आवश्यक सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।

कम्पनीले प्रभावित ग्राहकलाई धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोग आवश्यक परे सम्बन्धित सेवा केन्द्र वा आधिकारिक ग्राहक सेवा माध्यममार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

यसैबीच, भदौ १० गते रसुवाको भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति डिसहोमले दुःख व्यक्त गरेको छ। कम्पनीले पीडित परिवारप्रति गहिरो सहानुभूति तथा ऐक्यबद्धता प्रकट गर्दै उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *