धानको न्यूनतम समर्थन मूल्य तोकियो, खरिद गर्ने सहकारीलाई अनुदान दिइने

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारी संस्थालाई व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइले सूचना जारी गर्दै कृषकबाट तोकिएको समर्थन मूल्यमा धान खरिद तथा व्यवस्थापन गर्ने सहकारीलाई प्रोत्साहनस्वरूप व्यवस्थापन खर्च उपलब्ध गराउने जनाएको हो।

सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ तोकेको छ। मन्त्रिपरिषद्को २०८३ जेठ ११ गतेको निर्णयअनुसार यी मूल्य निर्धारण गरिएको हो।

मन्त्रिपरिषद्कै २०७७ कात्तिक ४ गतेको निर्णयबाट स्वीकृत ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७’ मा भएको प्रावधानबमोजिम कृषकहरूले उत्पादन गरेको धान तोकिएको मूल्यमा खरिद गर्ने सहकारीहरूलाई अनुदान/व्यवस्थापन खर्च दिने व्यवस्था गरिएको छ।

यस कार्यक्रम लागू भएका जिल्लाहरूमा रहेका ‘कार्यक्रम कार्यान्वयन एकाइ’हरूमार्फत यो व्यवस्थापन खर्च उपलब्ध गराइनेछ। तोकिएको समर्थन मूल्यमा कृषकबाट धान खरिद गरी यो सुविधा लिन इच्छुक सहकारी संस्थाहरूलाई सम्बन्धित जिल्लास्थित कार्यक्रम कार्यान्वयन एकाइमा नियमानुसार सूचीकृत हुन राष्ट्रिय कृषि आधुिनकीकरण कार्यक्रमले अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *