काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अहिले नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकले नोटबन्दी गर्नुपर्ने विषय उठाएपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पारेका हुन्।
छलफलमा सहभागी नागरिकले ‘नोटबन्दी किन नगर्ने?’ भन्दै प्रश्न गरेका थिए। जवाफमा वाग्लेले नोटबन्दीको विषयमा आफूले उठेका प्रश्नहरू सुनेको, तर तत्काल त्यसलाई उपयुक्त विकल्पका रूपमा सरकारले नलिएको बताए।
‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने।
नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकको अनुभवसमेत उत्साहजनक नरहेको उनको भनाइ थियो। नोटबन्दीबाट अपेक्षित परिणाम हासिल भएका उदाहरण कम रहेको भन्दै उनले अहिले नेपालले त्यस्तो निर्णय लिनुपर्ने अवस्था नरहेको संकेत गरे।
वाग्लेको भनाइसँगै सरकारले तत्काल नोटबन्दीको विकल्पमा नजाने स्पष्ट सन्देश दिएको छ। पछिल्लो समय अर्थतन्त्रमा अनौपचारिक कारोबार, अवैध रकम तथा नगद प्रवाह नियन्त्रणका विषयमा बहस भइरहेका बेला नागरिकस्तरबाट भने नोटबन्दीको माग उठ्दै आएको छ।
तर अर्थमन्त्रीले त्यस्तो कदमभन्दा अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अन्य नीतिगत उपाय प्रभावकारी हुने संकेत गरेका छन्।




