काठमाडौं । लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउने तयारी नेपाल विद्युत् प्राधिकरणले थालेको छ।
पीपीए खुला गर्न आवश्यक मापदण्ड तयार गर्न प्राधिकरण सञ्चालक समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गरेको हो।
उपसमितिलाई सात दिनभित्र पीपीएको मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस गर्ने जिम्मेवारी दिइएको छ।
उपसमितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडीई शालिग्राम भण्डारी र विज्ञ रिवाज शर्मा सदस्य छन्। प्राधिकरणको व्यापार शाखाका निर्देशक सदस्यसचिव रहनेछन्।
आर्थिक ऐन, २०८३ मा गरिएको व्यवस्था तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि गठन गरेको समितिको सिफारिसलाई समेत आधार बनाएर नयाँ मापदण्ड तयार गरिने प्राधिकरणले जनाएको छ।
नयाँ आयोजनाको पीपीए लामो समयदेखि रोकिँदा ऊर्जा उत्पादकहरूले प्रक्रिया खुलाउन माग गर्दै आएका थिए। अब नयाँ मापदण्ड तयार भएपछि उत्पादन अनुमति पाएका आयोजनासँग पीपीए गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।




