इलाम । प्राकृतिक सौन्दर्यका लागि परिचित इलाममा परम्परागत लाखे नाच सुरु भएसँगै यहाँको सांस्कृतिक पर्यटनमा समेत आकर्षण थपिएको छ । राणाकालदेखि मनाइँदै आएको लाखे नाचलाई इलामको ऐतिहासिक तथा मौलिक सांस्कृतिक पहिचानका रूपमा लिइँदै आएको छ ।
नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने लाखे जात्रामा स्थानीय युवायुवतीदेखि वृद्धवृद्धासम्म सहभागी हुने गरेका छन् । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा सोमबारदेखि सुरु भएको लाखे नाच धार्मिकस्थल माईथानबाट सुरु भई मालापथ, चोकबजार, नवीन चोक, टुँडिखेल, धोबीधारा, नारायणस्थानलगायत बजार क्षेत्रका विभिन्न स्थानको परिक्रमा गर्ने गरिन्छ ।
लाखे नाच हेर्न स्थानीयसँगै इलाम पुगेका पर्यटक तथा आगन्तुकसमेत सहभागी हुने गरेका छन् । प्राकृतिक पर्यटनसँगै स्थानीय कला, संस्कृति, जात्रा तथा परम्परालाई पर्यटनसँग जोड्न सके इलाममा पर्यटकको बसाइ अवधि बढाउन सकिने स्थानीयको अपेक्षा छ ।
नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष प्रविन श्रेष्ठले संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक सांस्कृतिक अभ्याससँग जोड्ने उद्देश्यले लाखे नाच आयोजना गरिएको बताए ।
इलाममा नेवारी समुदायले मनाउँदै आएको यो जात्रा विसं १९६० देखि सुरु भएको बताइन्छ । सुरुमा नेवार समुदायको पर्वका रूपमा मनाइँदै आए पनि पछिल्लो समय लाखे नाच इलामको सांस्कृतिक पहिचान र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको नेवार समुदायका अगुवाहरू बताउँछन् ।
इलाम बजारसँगै जिल्लाका एकतप्पा, नामसालिङ, फिक्कल, दानाबारी र जितपुरलगायत क्षेत्रमा पनि लाखे नाच निकालिँदै आएको छ । परम्परागत जात्रा, स्थानीय संस्कृति र समुदायको सहभागिताले इलामको पर्यटनलाई थप विविध बनाउन सहयोग पुग्ने देखिन्छ ।
इलाम चियाबारी, कन्याम, श्रीअन्तु, माइपोखरीलगायत प्राकृतिक तथा पर्यटकीय गन्तव्यका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ । यस्ता गन्तव्यसँगै स्थानीय सांस्कृतिक पर्व तथा जात्रालाई पर्यटन प्रवद्र्धनसँग जोड्न सके इलामको सांस्कृतिक पर्यटनको सम्भावना अझ विस्तार गर्न सकिने स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ ।




