विद्युत् कर हटाउन र बक्यौता असुल्न उज्यालो नेपालको देशव्यापी हस्ताक्षर अभियान

काठमाडौँ । विद्युत्मा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखिको बक्यौता असुल गर्न दबाब दिने उद्देश्यले उज्यालो नेपाल पार्टीले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भदौ १ गतेदेखि २४ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ। ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ भन्ने नारासहित सुरु हुने अभियानको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गर्ने कार्यक्रम तय भएको छ।

अभियानको औपचारिक सुरुवात भदौ १ गते बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलाबाट गरिनेछ। पार्टीको भ्रातृ संगठन युवा तथा खेलकुद महासंघको संयोजनमा सञ्चालन हुने अभियानमार्फत सरकारले विद्युत् महसुलबापत उठाउनुपर्ने बक्यौता असुल गर्न र सर्वसाधारणलाई भार पर्ने गरी लगाइएको विद्युत् कर हटाउन दबाब दिने लक्ष्य राखिएको छ।

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवाद लामो समयदेखि चर्चामा रहेका बेला उज्यालो नेपाल पार्टीले सुरु गर्न लागेको अभियानलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

अभियान अवधिमा देशभरबाट संकलन गरिएका हस्ताक्षर सरकारलाई बुझाउँदै आफ्ना माग सम्बोधनका लागि दबाब बढाउने पार्टीको योजना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *