ग्यास बिक्रेता महासंघले भन्यो- सरकार स्टन्ट एवम् प्रचारबाजीमै लाग्दा ग्यास अभाव भयो

काठमाडौं । यतिबेला बजारमा खाना पकाउने ग्यासको हाहाकार छ। नेपाल आयल निगमले आपूर्ति सहज भइरहेको दाबी गरिरहे पनि ग्यास पाउने आशामा दिनभरको झरी र टन्टलापुर घाम नभनी लाइन बसेका उपभोक्ताहरू रित्तै फर्किन बाध्य छन्।

हामीलाई जिताउनुस्, सबैकुरा ‘अनलाईन’ भन्दै चुनाव जितेर बनेको झन्डै २ तिहाईको सरकार बनेको सुरुवातमै दैनिक उपभोग्य सामग्रीकै लागी खेप्नु परेपछि उपभोक्ता चिन्तित बनेका छन्।

यसैबीच बीच ग्यास विक्रेता महासंघले बजारमा ग्यास अभाव हुनुको मुख्य कारण सरकारको ‘स्टन्ट एवम् प्रचारबाजी’ भएको गम्भीर आरोप लगाएको छ।

महासंघले लामो समयदेखि जारी ग्यास अभावप्रति सरकार गम्भीर नभएको भन्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सरकारका अन्य निकायहरू समस्या समाधानमा भन्दा ‘अनावश्यक प्रचारबाजी’मा केन्द्रित भएको आरोप लगाएको हो।

महासंघका अनुसार पछिल्लो ४ महिनामा जम्मा ६० हजार मेट्रिक टन ग्यास कम आयात भएको छ। आयातमा आएको ठूलो गिरावटले नै बजारमा ग्यासको अभाव सिर्जना गरेको महासंघको दाबी छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा हाल बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख सिलिन्डर छरिएर रहेको उल्लेख छ। यति ठूलो संख्यामा सिलिन्डर बजारमा हुँदाहुँदै नयाँ सिलिन्डर बिक्री गर्ने कार्य नरोकिए आगामी वर्ष समस्या झन् जटिल बन्ने महासंघले चेतावनी दिएको छ।

उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट सीधै ग्यास बिक्री हुनु पनि अभावको अर्को प्रमुख कारण भएको भन्दै महासंघ आक्रोशित बनेको छ।

वितरण च्यानल अर्थात् डिलरमार्फत बिक्री नगरी उद्योग र बिक्री केन्द्रका नामबाट ग्यास बिक्री गर्दा बजारमा आपूर्ति व्यवस्थापन थप अस्तव्यस्त बनेको भन्दै महासंघले वितरणलाई नियमअनुसार गर्न भनेको छ ।

यस्तै, अनुगमनका नाममा आम ग्यास बिक्रेतालाई अनावश्यक दुःख दिने काम भइरहेको बिषयमा पनि महासंघले सरकारी रवैयाप्रति असन्तुष्टि व्यक्त गरेको छ।

महासंघले ग्यास उद्योग तथा विभिन्न नामका बिक्री केन्द्रबाट हुने बिक्री तत्काल बन्द गर्नुपर्ने, डिलरमार्फत मात्रै ग्यास वितरणलाई सहज बनाउनुपर्ने र अनुगमनका नाममा बिक्रेतालाई दुःख दिने कार्य रोक्नुपर्ने माग गरेको छ।

एकातिर निगमले आपूर्ति सहज रहेको दाबी गरिरहेको छ भने अर्कोतिर उपभोक्ता ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य छन्। यस्तो अवस्थामा सरकार सचेत बनेन भने जनविश्वास थप जोखिममा पर्ने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *