काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलताको मापदण्ड सत्ता वा पद प्राप्ति मात्र हुन नसक्ने बताएका छन्। उनले राजनीतिक दललाई राष्ट्रिय शक्ति बनाउन नैतिक बल, मूल्य–मान्यता र कार्यकर्ताको त्यागलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन समारोहमा बोल्दै थापाले राजनीतिमा कसले कति सत्ता प्राप्त गर्यो भन्ने आधारमा मात्र सफलताको मूल्यांकन गर्न नहुने बताए।
‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन,’ थापाले भने, ‘लेखक धर्म गौतमको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्नेहरूसँग नहुन सक्छ।’
थापाले २०३३ सालमा बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति रणनीतिक कदम मात्र नभई मूल्य र मान्यतामा आधारित रहेको बताए।
उनका अनुसार बीपीका लागि लोकतन्त्र कुनै निश्चित देश वा परिस्थितिसँग मात्र सीमित विषय थिएन। भारतमा संकटकाल लागू हुँदा बीपीले त्यसको विरोध गर्नुको कारण पनि लोकतन्त्रप्रतिको त्यही सार्वभौमिक दृष्टिकोण रहेको थापाले बताए।
‘बीपीका लागि लोकतन्त्र युनिभर्सल थियो। भारतमा सङ्कटकाल लाग्दा बीपीले त्यसको विरोध गर्नुभयो, किनकि उहाँका लागि लोकतन्त्र जहाँ पनि उत्तिकै महत्त्वपूर्ण थियो,’ थापाले भने।
थापाले अहिले पनि नेपाली कांग्रेसले बीपीको विचारबाट प्रेरणा लिँदै नागरिकका अधिकार र राष्ट्रियतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।






