काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु धर्मावलम्बी भएको र आफ्नो आस्था प्रकट गर्न पाउनु आफ्नो अधिकार भएको बताएका छन् ।
काठमाडौँको सुकेधारामा आयोजित इतर समूहको ३ दिने राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले धर्मका विषयमा आफ्नो धारणा प्रस्ट पारेका हुन् ।
भेलामा सहभागी प्रतिनिधिहरूले हिन्दु राष्ट्र र धार्मिक पहिचानका बारेमा जिज्ञासा राखेपछि जवाफ दिँदै देउवाले भने– ‘मैले हिन्दु धर्म मान्छु भन्न पाउनुपर्छ र पाउँछु। आफ्नो धर्मका बारेमा बोल्न म स्वतन्त्र छु।’
आफू हिन्दु हुनुको अर्थ अन्य धर्मलाई निषेध गर्नु नभएको उनले प्रस्ट पारे । ‘मैले हिन्दु धर्म मान्छु भन्दै गर्दा मुस्लिम वा इसाई धर्म मान्न पाइन्न भनेको छैन,’ देउवाले अगाडि थपे, ‘सबै धर्म मान्नेहरूलाई मैले अहिलेसम्म सम्मान गरेको छु र गरिरहनेछु। मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्नेमा म दृढ छु।’
देउवाले आफू सानैदेखि हिन्दु संस्कारमा हुर्किएको र व्यक्तिगत रूपमा त्यसलाई पालना गर्दै आएको बताए । ‘साथीहरूले यस विषयमा जिज्ञासा राख्नुभएकाले मैले प्रस्ट पारेको हुँ,’ उनले भने, ‘आफूले के धर्म मान्ने भन्नेमा प्रत्येक व्यक्ति स्वतन्त्र हुन्छन् र मेरो हकमा पनि त्यही लागू हुन्छ।’




