काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंमा सुरु हुँदैछ। दोस्रो संस्करणको एक्स्पोमा ५५ ब्रान्डका सवारीसाधन तथा मोबिलिटीसम्बन्धी कम्पनी सहभागी हुँदैछन्।
एक्स्पोमा विद्युतीय (ईभी), हाइब्रिड, प्लग–इन हाइब्रिड तथा इन्धनबाट चल्ने गरी करिब ४० नयाँ चारपांग्रे, दुईपांग्रे र कमर्सियल सवारीसाधन सार्वजनिक हुने आयोजकले जनाएको छ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार गत वर्ष ४२ ब्रान्ड सहभागी भएकोमा यसपटक संख्या बढेर ५५ पुगेको छ। उनका अनुसार दुईवटा चार्जिङ कम्पनी, ट्राफिक प्रहरीको एप, बैंक तथा बीमा कम्पनी र रेस्टुरेन्टसमेत एक्स्पोमा सहभागी छन्।
दसैं–तिहारलाई सवारीसाधन बिक्रीको मुख्य सिजन मानिने भएकाले चाडपर्वअघि आयोजना हुने एक्स्पोलाई व्यवसायीले महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्। एक्स्पोमा ग्राहकले विभिन्न ब्रान्डका गाडीको मूल्य, डिजाइन, फिचर र प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाको सहभागिताले सवारी कर्जाको ब्याजदर, डाउन पेमेन्ट र कर्जा अवधिबारे जानकारी लिन तथा बीमा कम्पनीमार्फत सवारी बीमासम्बन्धी सुविधा बुझ्नसमेत सहज हुनेछ।
यसपटक ईभीसँगै हाइब्रिड, प्लग–इन हाइब्रिड र इन्धन गाडीले पनि बजारमा प्रतिस्पर्धा गर्नेछन्। ब्याट्री क्षमता, रेन्ज, चार्जिङ सुविधा, सुरक्षा प्रविधि, बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको उपलब्धता ग्राहकको रोजाइका प्रमुख आधार बन्ने अपेक्षा गरिएको छ।
दसैं नजिकिँदै गर्दा सुरु हुन लागेको एक्स्पोले नेपाली अटो बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।




