काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र सडक भासिँदा प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। प्रहरीका अनुसार शनिबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाका सडकखण्ड अवरुद्ध भएका छन्।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गमा बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुनेछ।
मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। वर्षाका कारण जोखिम बढेपछि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन आवागमन बन्द गरिएको हो।
इलामको मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा वैकल्पिक बाटो भने रहेको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेको तथा वडा नम्बर २ कोदारीमा इकु पहिरोबाट ढुंगा, माटो र लेदो सडकमा थुप्रिएको प्रहरीले जनाएको छ। लिपिङमा सडक भासिएपछि समेत राजमार्ग अवरुद्ध भएको छ।
रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक अवरुद्ध भएको हो।
रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुंगा, माटो र लेदो खसेपछि जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डअन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिका–१ निलदोर्जेको रमाइलोडाँडामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, तेह्रथुमको मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। लालीगुराँस नगरपालिका–९ काडेमा पिङवा खोलानजिक करिब ३०–३५ मिटर माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लगातार वर्षाका कारण विभिन्न सडकखण्डमा बाढी र पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले यात्रु तथा सवारीचालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।




